नुवाकोट ककनीको एक गाईफार्ममा कार्यरत महिला मृत अवस्थामा फेला
नुवाकोट, साउन ४ — नुवाकोटको ककनी गाउँपालिका–६ पैतिसकिलोस्थित वरखोल्सा खोलानजिक एक महिला मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक लिखु गाउँपालिका–३ ढाडेफेदी घर भई हाल ककनी गाउँपालिका–६ मा रहेको दिलमाया लामाको गाईफार्ममा काम गर्दै आएकी करिब ४५/४६ वर्षीया दुर्गा राई हुन्। उनलाई स्थानीयले “राईनी दिदी” भनेर चिन्ने गरेका थिए।
सोमबार बिहान करिब १० बजे महिला मृत अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी ककनीबाट आठ सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल प्रहरी चौकी ककनीबाट करिब १० किलोमिटर पश्चिममा पर्छ।
प्रहरीले घटनास्थलको आवश्यक मुचुल्का प्रक्रिया दिउँसो करिब १ बजे सम्पन्न गरेपछि शव पोस्टमार्टमका लागि त्रिशूली अस्पताल पठाएको जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

