करेन्ट लागेर एक जनाको मृत्यु
दाङ, साउन ४ — दाङमा टेबल पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
देउखुरीको गढवा गाउँपालिका–६ थानदेउखुरी निवासी ५६ वर्षीय रामसेवक यादवको सोमबार आफ्नै घरमा टेबल पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार यादवलाई सोमबार दिउँसो आफ्नै घरको सुत्ने कोठामा पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो।
गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

