सांसदलाई स्वकीय सचिव राख्न बाटो खुल्यो, राजपत्रमा प्रकाशित भयो सरकारको निर्णय
काठमाडौं,साउन ४ । सरकारले संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू गरेको छ। यससम्बन्धी निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै सांसदहरूले रा.प. तृतीय श्रेणीको स्वकीय सचिव राख्न पाउने भएका हुन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार सभामुख र राष्ट्रियसभा अध्यक्षले रा.प.प्र. सरहका एक प्रमुख स्वकीय सचिव राख्न पाउनेछन्। साथै उनीहरूले द्वितीय र तृतीय श्रेणीका एक–एक जना गरी दुई स्वकीय सचिव पनि नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष, प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिले पनि द्वितीय श्रेणीका स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू गरिएको छ।
राजपत्रमा स्वकीय सचिवालयका कर्मचारीले सुरु स्केलअनुसारको तलब मात्र पाउने उल्लेख गरिएको छ। उनीहरूको पारिश्रमिक प्रचलित कानुनबमोजिम बैंक खातामार्फत उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ।



