विश्वकप छनोटको आशामा आज मैदानमा नेपाल, पहिलो चुनौती नामिबिया



काठमाडौं, साउन ५ — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आजदेखि नेदरल्यान्ड्समा सुरु हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनोटको सम्भावना बलियो बनाइराख्न नेपालका लागि यो शृङ्खला निर्णायक मानिएको छ।

नेपालले आफ्नो पहिलो खेल आज दिउँसो पौने ३ बजे नामिबियासँग खेल्नेछ। त्यसपछि बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आगामी सोमबार पुनः नामिबियासँग खेल्नेछ भने त्यसको दुई दिनपछि नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेल खेल्दै शृङ्खलाको यात्रा टुङ्ग्याउनेछ।

हालसम्म लिग–२ का सात शृङ्खला खेलिसकेको नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ भने स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो, ओमान ३१ अंकसहित चौथो, नेपाल र क्यानडाको समान २४ अंक, नामिबियाको २२ तथा यूएईको १४ अंक रहेको छ।

कीर्तिपुरमा सम्पन्न पछिल्लो घरेलु शृङ्खलामा नेपालले आठ खेलमध्ये छ खेल जित्दै १२ महत्त्वपूर्ण अंक जोडेको थियो। त्यस प्रदर्शनले टोलीलाई पाँचौँ स्थानमा उक्लाउँदै शीर्ष चारमा पुग्ने सम्भावना पुनः बलियो बनाएको थियो।

लिग–२ को शीर्ष चार टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने भएकाले नेदरल्यान्ड्समा सुरु भएको यो शृङ्खला नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण छ। यसपछि नेपालले अक्टोबरमा ओमानमा हुने अन्तिम लिग–२ शृङ्खलामा ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

अघिल्लो लिग–२ चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनोटसम्म पुगेको नेपाल यसपटक पनि त्यही इतिहास दोहोर्याउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। नेदरल्यान्ड्सको यो शृङ्खला नेपालको विश्वकप यात्रालाई जीवित राख्ने सबैभन्दा कठिन र महत्त्वपूर्ण परीक्षा मानिएको छ।

प्रतिक्रिया दिनुहोस्