नुवाकोटका पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सांसद डा. विक्रम तिमिल्सिनाको पहल
नुवाकोट, साउन ५ — अविरल वर्षासँगै नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा वर्षाजन्य विपद्का घटना बढेपछि नुवाकोट–१ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग समन्वय सुरु गर्नुभएको छ।
दुप्चेश्वर, सूर्यगढी, तादी र पञ्चकन्या गाउँपालिकामा पहिरो तथा वर्षाजन्य विपद्का घटना भएपछि डा. तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सम्बन्धित निकायसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा स्थलगत अनुगमन, नागरिकको सुरक्षा, उद्धार, राहत तथा क्षतिको यथार्थ विवरण संकलन गर्न आग्रह गर्नुभएको हो।
उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको सचिवालयले जनाएको छ। साथै प्रभावित स्थानीय तहका अध्यक्ष तथा जनप्रतिनिधिसँग संवाद गरी आवश्यक राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको बताइएको छ।
यसैबीच, डा. तिमिल्सिनाले सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख इन्जिनियर बद्री शर्मासँग भेट गरी वर्षाका कारण सडक तथा अन्य पूर्वाधारमा पुगेको क्षतिबारे जानकारी लिँदै अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन, मर्मत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको छ।
प्रमुख जिल्ला अधिकारीसँग पनि निरन्तर सम्पर्कमा रही प्रभावित क्षेत्रको अवस्था, उद्धार, राहत, सडक सञ्चालन तथा अत्यावश्यक सेवा सुचारु गर्ने विषयमा आवश्यक समन्वय भइरहेको जनाइएको छ। आवश्यकताअनुसार थप सहयोग र हस्तक्षेपका लागि सम्बन्धित निकायसँग छलफल जारी रहेको सचिवालयले जनाएको छ।
डा. तिमिल्सिना स्वयं पनि प्रभावित क्षेत्रको स्थलगत अनुगमनको तयारीमा रहनुभएको छ। उहाँले नागरिकलाई सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचना तथा निर्देशनको पालना गर्न आग्रह गर्नुभएको छ।
साथै, विपद्सम्बन्धी सूचना, क्षतिको विवरण वा तत्काल सहयोग आवश्यक परेमा आफ्नो सचिवालयमा जानकारी गराउन अनुरोध गर्दै प्राप्त सूचनालाई सम्बन्धित निकायसम्म तत्काल पुर्याई आवश्यक समन्वय र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

