कोशी ब्यारेज जीर्ण, दुर्घटनाको जोखिम बढ्दो



काठमाडौं, साउन ५ — आयु सकिएको कोशी ब्यारेज जीर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम बढेको छ। सन् १९६२ मा निर्माण भएको ५० वर्षे आयु तोकिएको ब्यारेज अहिले ६४ वर्ष पुरानो भइसकेको छ। वर्षायाममा पानीको बहाव र बढ्दो सवारी चापका कारण पुलको केही भाग भासिएपछि हाल एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ।

सडक विभागले वैकल्पिक पुल र सडकको अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको भए पनि कोशीटप्पु वन्यजन्तु आरक्षसँग सम्बन्धित अनुमति नपाउँदा निर्माण अघि बढ्न सकेको छैन। प्रस्तावित सडक चार लेनको ४४.२ किलोमिटर र पुल २,८६० मिटर लामो हुने योजना छ।

स्थानीयवासी र सवारीचालकले तत्काल मर्मतको माग गरेका छन्। प्रशासनले भारतीय पक्षलाई मर्मतबारे जानकारी गराएको जनाएको छ भने ठूलो बाढीका बेला सम्भावित क्षति रोक्न आवश्यक तयारी गरिएको बताएको छ। अध्ययनअनुसार नयाँ पुल र सडक निर्माणमा करिब ४२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्