काठमाडौंमा युवतीले आफैँलाई आगो लगाउने प्रयास, ५० प्रतिशत शरीर जलेको अवस्थामा उपचाररत
काठमाडौं,असार ५। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक २७ वर्षीया युवतीले आफैँलाई आगो लगाउने प्रयास गरेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारी बस्दै आएकी सालु गुरुङले गएराति करिब २ः५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आफैँलाई आगो लगाउने प्रयास गरेकी हुन्।
प्रहरीका अनुसार घटनालगत्तै उनका श्रीमान्ले उनलाई फेला पारी उद्धार गरेका थिए। प्रारम्भिक उपचारका लागि शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु लगिएपछि थप उपचारका लागि कीर्तिपुरस्थित जलन उपचार अस्पतालमा पठाइएको छ।
प्रहरीका अनुसार गुरुङको अनुहार, छाती र दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

