बाजुरा जिप दुर्घटना : उपचारका क्रममा दुई घाइतेको मृत्यु



बाजुरा,साउन ५ । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य सात जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कोल्टी आधारभूत अस्पतालमा उपचाररत हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारकै क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख शैलेश्वरी बोहराका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सोमबार दिउँसो करिब १:२५ बजे हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डको माथिल्लो मोडमा अनियन्त्रित भएको थियो। अनियन्त्रित जिप करिब १० मिटर तल रहेको अर्को मोडमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा नौ जना घाइते भएका थिए। तीमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। बाँकी सात जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। साथै, घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थापनबारे सम्बन्धित स्वास्थ्य संस्थाले निरन्तर निगरानी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्