नुवाकोटमा ढलेको विद्युत् पोलको तार छोएर एक जनाको मृत्यु
नुवाकोट, साउन ५ — नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ गदारेमा उच्च भोल्टेजको विद्युत् तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब ३ बजे स्थानीय करिब ४० वर्षीय कुमार विक आफ्नै धानबारीमा मल हाल्न गएका बेला खेत नजिकै रहेको ढलेको विद्युत् पोलको ११ हजार भोल्ट क्षमताको तार टाउकोमा छोएपछि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयवासीले अपराह्न ३:५० बजे प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी समुद्रटार र इलाका प्रहरी कार्यालय खरानीटारबाट सात जना प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।
घटनास्थल प्रहरी चौकी समुद्रटारबाट करिब आठ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

