यात्रुवाहक बस दुर्घटनामा चालक गम्भीरसहित १५ जना घाइते
तनहुँ, साउन ५ — तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज अपराह्न यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा बस कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। बसभित्र च्यापिएका चालकलाई सकुशल बाहिर निकालेर उपचारका लागि रत्नहरि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसमा २५ जना यात्रु सवार रहेका थिए। दुर्घटनामा व्यास–४ की ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल–१ की ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ की ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता साही, व्यास–११ थुम्कीकी ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास–२ की ४७ वर्षीया अनिता गुरुङ, ४९ वर्षीया बिन्दु गुरुङ, कास्की रुपा गाउँपालिका–१ की ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ की २७ वर्षीया सुजिता पौडेल, व्यास–१ की ८ वर्षीया सान्भि गिरी, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा घाइते भएका छन्।
।
घाइते सबैको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

