‘देश जोगाउने बेला आयो’ : देउवा
काठमाडौं,साउन ५ — नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा लोकतन्त्र, संविधान, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक अधिकारको रक्षाका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज, युवा तथा आम नेपालीलाई एकजुट हुन आह्वान गर्नुभएको छ।
विदेशमा रहेका बेला जारी गर्नुभएको दुई पृष्ठको सन्देशमा देउवाले बिपी कोइरालालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् नेता, राष्ट्रिय मेलमिलापका प्रवर्तक तथा नेपाली कांग्रेसका सर्वोच्च प्रेरणास्रोतका रूपमा स्मरण गर्दै उहाँका राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आधारित विचार आज पनि नेपालको राजनीतिक यात्राका लागि मार्गदर्शक रहेको उल्लेख गर्नुभएको छ।
बिपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्ने अवसर आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै देउवाले लोकतान्त्रिक संस्कार, जनताको सर्वोच्चता र राष्ट्रिय हितप्रतिको बिपीको विश्वासले आफ्नो राजनीतिक जीवनलाई निरन्तर मार्गदर्शन गरेको बताउनुभएको छ।
सन्देशमा उहाँले नेपाली कांग्रेसले निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्दै शान्ति प्रक्रिया, संविधान निर्माण, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीजस्ता राष्ट्रिय संकटमा जिम्मेवार भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ।
पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको तथा स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय र लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना हुने संकेत देखिएको दाबी गर्नुभएको छ।उहाँले नेपाली कांग्रेस अब केवल प्रतिपक्षमा सीमित नरही लोकतन्त्र, संविधान, राष्ट्रियता र नागरिकको सुरक्षा तथा भविष्यको रक्षाका लागि ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताउनुभएको छ।
विभाजन, प्रतिशोध र असहिष्णुताको राजनीतिभन्दा माथि उठेर राष्ट्रिय संवाद, सहकार्य, विश्वास र साझा संकल्पमार्फत देशलाई अघि बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ। देउवाले राष्ट्रिय मेलमिलापको नीति अहिलेको राजनीतिक परिस्थितिमा अझ सान्दर्भिक बनेको उल्लेख गर्दै सामाजिक न्याय, समानता, समावेशिता, सुशासन, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानलाई कांग्रेसको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाइने बताउनुभएको छ। साथै, नयाँ पुस्ताको ऊर्जा, प्रविधि र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र सामाजिक सद्भावको पक्षमा सबै नेपालीलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ।
सन्देशको अन्त्यमा देउवाले आफू छिट्टै नेपाल फर्कन लागेको पनि उल्लेख गर्नुभएको छ।



