कार्यालयभित्र कर्मचारी कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ
पर्सा,साउन ५ — पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पोखरियाले उनलाई अभद्र व्यवहार मुद्दाअन्तर्गत आफ्नै गाउँ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्र मल्लका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको अनुसन्धानका क्रममा पटेललाई पक्राउ गरिएको हो।
गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको थियो। घटनापछि कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारबाहीको माग गर्दै विरोध जनाउँदै आएका थिए।
प्रहरीले पक्राउ परेका वडाध्यक्ष पटेललाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। घटनामा संलग्न अन्य आरोपितहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

