मानसिक स्वास्थ्यको आधारमा मुद्दा मुल्तवी गर्न माग अस्वीकार, डा. रामशरण महतविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ अघि बढ्ने
काठमाडौं,साउन ६ — विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा हालका लागि मुल्तवीमा राख्न अस्वीकार गरेको छ।
न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले डा. महतकी पत्नी रोशना महतले दिएको निवेदन खारेज गर्दै प्रतिवादी अदालतमा उपस्थित भएपछि स्वास्थ्य अवस्था मूल्याङ्कन गरी आवश्यक कानुनी आदेश दिन सकिने जनाएको हो।
रोशना महतले डा. महत गम्भीर मानसिक रोगबाट पीडित रहेको, स्मरणशक्ति गुमेको र आफ्नो प्रतिरक्षा गर्न असमर्थ रहेको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ अनुसार मुद्दा मुल्तवीमा राख्न माग गरेकी थिइन्।
तर विशेष अदालतले प्रतिवादीको स्वास्थ्य अवस्था अदालतमा उपस्थित भएपछि आवश्यक रूपमा परीक्षण र मूल्याङ्कन गर्न सकिने भएकाले तत्कालका लागि मुद्दा स्थगित गर्न नमिल्ने आदेश दिएको छ।
डा. महतविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा पूर्वमन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्यसहित ५६ जनाविरुद्ध करिब ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

