खराब ब्याटिङको मूल्य चुकायो नेपाल, नामिबियासँग ८ विकेटको लज्जास्पद हार
काठमाडौं,साउन ६ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा भएको खेलमा नेपाल नामिबियासँग ८ विकेटको लज्जास्पद हार बेहोर्न पुगेको छ। कमजोर ब्याटिङ प्रदर्शनपछि नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमै २ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो।
नामिबियाको जितमा माइकल भान लिनगेन र जान फ्राइलिन्कले उत्कृष्ट ब्याटिङ गरे। दोस्रो विकेटका लागि उनीहरूले ८७ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। माइकल ५१ रन बनाएर आउट भए भने जान ८९ बलमा ८ चौका र १ छक्कासहित अविजित ७८ रन बनाए। निकोल लोफ्टी १७ रनमा अविजित रहे। नेपालका लागि रोहित पौडेल र नन्दन यादवले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै समेटिएको थियो। खेलको दोस्रो बलमै कुशल भुर्तेल २ रनमा आउट भएपछि नेपालको सुरुआत खराब बनेको थियो।त्यसपछि इशान पाण्डे ८, आशिफ शेख १६ रनमा आउट हुँदा नेपाल दबाबमा परेको थियो।
कप्तान रोहित पौडेलले ३१ तथा दीपेन्द्र सिंह ऐरीले ३० रन बनाएर चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्। गुलशन झाले २०, करण केसीले १८ र सोमपाल कामीले १५ रन जोडे।
नामिबियाका जेजे स्मिथ खेलका नायक बने। उनले ९.५ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। ज्याक ब्रासेल र बर्नार्ड स्कोल्ट्जले समान २–२ विकेट लिए।
यो हारसँगै लिग–२ मा नेपालको २९ खेलबाट १६औँ हार भएको छ। नेपालले हालसम्म ११ खेल जित्दै २४ अंकका साथ पाँचौं स्थानमा कायम रहेको छ। जितपछि नामिबियाले पनि २४ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। अब नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

