बागमती–गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौं,साउन ६ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बुधबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै रहेको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा केही स्थानमा हिमपात पनि हुन सक्ने जनाइएको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर बदली रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागका पछिल्ला मौसम सम्बन्धी सूचनामा नियमित रूपमा अद्यावधिक रहन अनुरोध गरिएको छ।

