गोरुको ठाउँ ट्र्याक्टरले लियो, बाँकेका खेतमा यान्त्रिकीकरणको रफ्तार



नेपालगन्ज,साउन ६ । कुनै समय धान रोपाइँको मौसम लागेपछि बाँकेका खेतमा गोरु–राँगाले हलो जोतेको दृश्य र किसानको ‘ह ह माले, ह ह तारे’ भन्ने आवाज गुञ्जिन्थ्यो। तर अहिले त्यो दृश्य इतिहास बन्दै गएको छ। समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनले खेतमा गोरुको स्थान ट्र्याक्टर र पावर टिलरले लिएका छन्।

जिल्लाभर धान रोपाइँको चटारो चलिरहेका बेला अधिकांश किसानले खेत जोत्न आधुनिक कृषि उपकरणको प्रयोग गरिरहेका छन्। यसले समय बचत हुनुका साथै रोपाइँ छिटो र सहज रूपमा सम्पन्न गर्न सहयोग पुगेको किसानहरू बताउँछन्।

जानकी गाउँपालिका–३ कर्मनाका किसान सुन्दर खटिकले धेरै वर्षदेखि ट्याक्टर प्रयोग गरेर धानखेती गर्दै आएको बताउनुभयो।यस वर्ष दुई बिघा जमिन अधियामा खेती गरिरहनुभएका उहाँले खेत जोत्न प्रतिघण्टा दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म तिर्नुपरेको जानकारी दिनुभयो। घरमा गोरु नभएकाले ट्याक्टर नै भरपर्दो विकल्प बनेको उहाँको भनाइ छ।

उहाँका अनुसार खेत जोत्न मात्रै होइन, रोपाइँका लागि मजदुरको ज्याला पनि उल्लेख्य रूपमा बढेको छ। अहिले मजदुरले दैनिक पाँच सयदेखि आठ सय रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन। मलखाद, मजदुरी र कृषि उपकरणको खर्च बढ्दै जाँदा धानखेतीको लागत वर्षेनि बढिरहेको भन्दै उहाँले समयमै रासायनिक मल उपलब्ध गराउन र न्यून आय भएका किसानलाई सहुलियत दिन सरकारसँग आग्रह गर्नुभयो।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले जिल्लामा कृषि यान्त्रिकीकरण तीव्र रूपमा विस्तार भइरहेको बताउनुभयो।किसानले गोरु–राँगा पाल्न छाड्दै गएपछि ट्याक्टर, पावर टिलरलगायत आधुनिक उपकरणको प्रयोग उल्लेख्य रूपमा बढेको उहाँले बताउनुभयो। स्थानीय तहहरूले पनि किसानलाई कृषि उपकरण वितरण कार्यक्रम सञ्चालन गरिरहेका छन्।

उहाँका अनुसार बाँकेमा हालसम्म करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। सिँचाइ सुविधा भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीमा निर्भर किसानले अझै रोपाइँ जारी राखेका छन्। कोहलपुर, बैजनाथ र राप्तीसोनारीका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ।

नेपालगन्ज उपमहानगरपालिका–१७ का किसान जैनुल शेखले करिब १२ वर्षयता खेतमा गोरु वा राँगाले जोतेको दृश्य नदेखेको बताउनुभयो। अहिले अधिकांश किसानले आफ्नै ट्याक्टर वा पावर टिलर राख्न थालेका छन् भने अरूले भाडामा लिएर खेत जोत्ने गरेका छन्। उहाँका अनुसार यस वर्ष ‘राम’ जातको धानसँगै उन्नत जातका धानको खेती पनि बढेको छ भने रोपाइँ गर्ने मजदुरको दैनिक पारिश्रमिक छ सयदेखि नौ सय रुपैयाँसम्म पुगेको छ।

कृषि ज्ञान केन्द्र बाँकेकी कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माका अनुसार प्रदेश सरकार स्थापना भएपछि ५० प्रतिशत अनुदानमा १८० वटा पावर टिलर, थ्रेसरलगायत कृषि उपकरण वितरण गरिएको छ। उपकरण वितरणसँगै सञ्चालन तथा मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेको ५५ हजार ८२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुने गरेको छ। हालसम्म २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ। जिल्लाका खेतमा गोरुको सट्टा आधुनिक उपकरणको प्रयोग बढ्दै जाँदा बाँकेको कृषि परम्परागत प्रणालीबाट यान्त्रिक प्रणालीतर्फ तीव्र रूपमा रूपान्तरण भइरहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्