बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा



मकवानपुर,साउन ६ । नेकपा (एमाले)बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।

केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता सहकार्य अन्त्य भएसँगै प्रदेश सरकारबाट पनि एमाले बाहिरिएको हो। एमाले संसदीय दल, बागमती प्रदेश सभाले मुख्यमन्त्रीलाई पत्राचार गर्दै पार्टीको निर्णयअनुसार सरकारमा सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

राजीनामा दिने मन्त्रीहरूमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल तथा श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा रहेका छन्।

एमालेको यो निर्णयसँगै बागमती प्रदेश सरकारको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ। अब सरकारको आगामी रणनीति र नयाँ सत्ता समीकरणबारे चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्