हस्तकला संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध, विकास बोर्ड गठनमा सकारात्मक



काठमाडौं,साउन ६ । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा परम्परागत सीपको पुस्तान्तरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल हस्तकला व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो।

छलफलका क्रममा महासङ्घका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको जनाउँदै वर्तमान सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको अनुभूति भएको बताएका थिए।

महासङ्घले हाल आफ्नै पहलमा मनाइँदै आएको मङ्सिर २८ को हस्तकला दिवसलाई राष्ट्रिय स्तरमा मनाउने व्यवस्था गर्न माग गरेको थियो। सो विषयमा प्रधानमन्त्री शाहले तत्काल गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिनुभएको छ।

हस्तकला सामग्री निर्यातमा हाल स्वघोषणाको सट्टा बिजक मूल्याङ्कन अनिवार्य गर्ने सुझाव कार्यान्वयन गरिने प्रधानमन्त्रीले आश्वासन दिनुभयो। साथै, निर्यातकर्ताले पाउने पाँच प्रतिशत प्रोत्साहन रकम तीन वर्षदेखि रोकिएको विषयलाई पुनः निरन्तरता दिन पहल गरिने पनि उहाँले बताउनुभयो।

महासङ्घले उद्योग विभाग परिसरमा निर्माण भइसकेको सार्क हस्तकला विकास केन्द्रको भवन हस्तकला क्षेत्रकै उपयोगमा फिर्ता गर्न, काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्न तथा सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्न माग राखेको थियो। यी विषयमा प्रधानमन्त्री शाहले विशेष चासो व्यक्त गर्नुभएको छ।

छलफलमा परम्परागत हस्तकला संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र वितरणलगायत विभिन्न विषयमा पनि छलफल भएको थियो। कार्यक्रममा महासङ्घका अध्यक्ष रविन्द्र शाक्यसहित पदाधिकारी तथा हस्तकला क्षेत्रका प्रमुख निर्यातकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्