मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई विशेष छुट
काठमाडौं,साउन ६ । सरकारले मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को आज बसेको बैठकले मिटरब्याज पीडितको माग सम्बोधनका लागि महत्वपूर्ण निर्णय गर्दै यससम्बन्धी सम्झौता पनि अनुमोदन गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न गठित समिति र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गरिएको जानकारी दिनुभयो।
मन्त्रिपरिषद्ले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ।
सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडान प्रवर्द्धनका लागि २०८५ साल भदौ मसान्तसम्म पार्किङ, अवतरण र हवाई मार्ग निर्देशन शुल्कमा पूर्ण छुट तथा भुइँ व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
त्यसैगरी, आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य तथा श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ।
साथै, गुठी संस्थानको प्रशासकमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

