बीपी स्मृति दिवसमा कांग्रेसभित्र विभाजनको संकेत, फरक–फरक कार्यक्रमबाट शक्ति प्रदर्शन
काठमाडौँ, साउन ६ — नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार देशभर विविध कार्यक्रम गरी मनाइयो। तर बीपीको योगदानको स्मरण गर्ने दिनमै नेपाली कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेपछि पार्टीभित्रको आन्तरिक मतभेद पुनः सतहमा आएको छ।
कांग्रेसको संस्थापन पक्षले ललितपुरस्थित युएन पार्कबाट ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गर्यो भने संस्थापन इतर समूहले काठमाडौँको प्रज्ञा भवनमा भेला आयोजना गर्दै पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठायो। एउटै अवसरमा दुई फरक कार्यक्रम भएपछि कांग्रेसभित्र भावनात्मक विभाजन बढ्दै गएको सन्देश गएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ।
ग्रीन रन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगनकुमार थापाले जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। बीपी कोइरालाले धेरै अघि नै प्राकृतिक स्रोत–साधनको संरक्षण, दिगो विकास र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने अवधारणा अघि सारेको स्मरण गर्दै उहाँले कांग्रेसले त्यही विचारप्रति पुनः प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो। प्रतियोगितामा उत्कृष्ट हुने छ जनालाई नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।
यता प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विजयकुमार गच्छदारलगायत नेताले पार्टी एकताको आवश्यकता औँल्याए। उनीहरूले वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे पनि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागी केही युवा नेताले भने पार्टीको भविष्यबारे अझ कडा धारणा सार्वजनिक गरेका थिए। पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका सिलसिलामा विदेशमा रहेकाले कार्यक्रममा सहभागी हुनुभएन। उहाँ नेपाल फर्किएपछि कांग्रेसभित्रको आन्तरिक संवाद र शक्ति सन्तुलनको नयाँ चरण सुरु हुन सक्ने अपेक्षा केही नेता–कार्यकर्ताले गरेका छन्।
बीपी कोइरालाको निधन विसं २०३९ साउन ६ गते भएको थियो। उहाँ विसं २०१५ को आमनिर्वाचनपछि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई राजनीतिक मार्गदर्शनका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका कोइरालाले भूमिसुधार, विर्ता उन्मूलन र लोकतान्त्रिक संस्थागत विकासका लागि उल्लेखनीय योगदान दिनुभएको थियो।
राजनीतिसँगै साहित्यमा पनि विशिष्ट योगदान पुर्याउनुभएका बीपीका तीन घुम्ती, सुम्निमा, मोदी आइन, नरेन्द्रदाइ लगायतका कृति नेपाली साहित्यका महत्वपूर्ण सम्पत्ति मानिन्छन्। राष्ट्रिय मेलमिलापको नीति लिएर विसं २०३३ मा स्वदेश फर्किनुभएका उहाँ नेपाली लोकतान्त्रिक आन्दोलनका प्रमुख प्रेरणास्रोतका रूपमा आज पनि स्मरण गरिनुहुन्छ।

