लिग टु उपाधि दौडबाट नेपाल बाहिरियो, शीर्ष चारको चुनौती कायम
काठमाडौं, साउन ७ — आइसिसी विश्वकप लिग टु क्रिकेट प्रतियोगिताको उपाधि जित्ने दौडबाट नेपालसहित चार टोली बाहिरिएका छन्। नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडा र नामिबियाले बाँकी सबै खेल जिते पनि शीर्ष स्थानमा रहेको अमेरिकाको अंक भेट्टाउन नसक्ने भएपछि उनीहरूको उपाधि सम्भावना समाप्त भएको हो।
सन् २०२७ को एकदिवसीय विश्वकप छनोटअन्तर्गत सञ्चालन भइरहेको लिग टुमा सबै आठ टोलीले ३६–३६ खेल खेल्नेछन्। हाल अमेरिका ३२ खेलबाट ४३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ र उपाधिको सबैभन्दा बलियो दाबेदार बनेको छ।
नेपालले २९ खेलमा ११ जित, १६ हार तथा दुई खेलको नतिजा नआउँदा २४ अंकसहित पाँचौँ स्थानमा रहेको छ। अब नेपालले नेदरल्यान्ड्ससँग दुई र नामिबियासँग एक खेल खेल्नेछ। त्यसपछि अक्टोबरमा ओमान र क्यानडाविरुद्ध दुई–दुई खेल खेल्ने तालिका छ। बाँकी सातै खेल जिते पनि नेपालको अधिकतम अंक ३८ मात्र पुग्ने भएकाले उपाधि सम्भावना समाप्त भएको हो।
यद्यपि नेपालको विश्वकप छनोटको यात्रा भने अझै खुला छ। लिग टुको शीर्ष चार टोलीले सोझै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् भने बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्नेछ। त्यस्तै शीर्ष छ स्थानमा रहने टोलीले आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछन्।
नेपालका लागि अब मुख्य लक्ष्य शीर्ष चारमा पुगेर सोझै विश्वकप छनोट खेल्नु र कम्तीमा शीर्ष छभित्र रहेर एकदिवसीय मान्यता सुरक्षित गर्नु हो। शीर्ष चारमा पुग्न नेपालले बाँकी सातमध्ये कम्तीमा छ खेल जित्नुपर्ने अवस्था रहेको छ भने एकदिवसीय मान्यता सुरक्षित गर्न कम्तीमा चार जित आवश्यक मानिएको छ।
उता साविक विजेता स्कटल्यान्ड ३८ अंकसहित दोस्रो, नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो र ओमान ३१ अंकसहित चौथो स्थानमा छन्। अमेरिकाले बाँकी चारै खेल जिते ५१ अंकसहित च्याम्पियन बन्नेछ। त्यसैले उपाधि होडमा अहिले अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्।

