दुप्चेश्वर धाममा प्रहरी चौकी स्थापना, तीर्थयात्रीको सुरक्षा थप बलियो
नुवाकोट,साउन ७— पशुपतिनाथको पर्यायका रूपमा परिचित प्रसिद्ध दुप्चेश्वर धाममा तीर्थयात्री तथा धार्मिक सम्पदाको सुरक्षालाई थप सुदृढ बनाउन अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।
दुप्चेश्वर गाउँपालिका–६ करेजुङको पहरामा अवस्थित दुप्चेश्वर धाममा काठमाडौं र नुवाकोटबाट पक्की सडकमार्फत सहज पहुँच रहेको छ। गाउँपालिका र दुप्चेश्वर क्षेत्र विकास कोषको संयुक्त अनुरोधपछि धाम परिसरमै अस्थायी प्रहरी पोस्ट सञ्चालनमा आएको हो।
प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरी धाममा खटिएका छन्। उनीहरूले तीर्थयात्रीको सुरक्षा, धार्मिक गतिविधिको व्यवस्थापन तथा शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी सम्हाल्नेछन्।
दुप्चेश्वर गाउँपालिका तथा दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष शंकरबहादुर थापाले हाल अस्थायी रूपमा स्थापना गरिएको प्रहरी पोस्टलाई आगामी दिनमा स्थायी प्रहरी चौकीमा रूपान्तरण गर्न आवश्यक पहल गरिने बताए। उनका अनुसार दुप्चेश्वर धाम हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा निरन्तर विकास भइरहेको छ।
कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार प्रत्येक सोमबार, बिहीबार र शनिबार दुप्चेश्वर धाममा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। विशेषगरी धान्यपूर्णिमा र महाशिवरात्रिका अवसरमा यहाँ ठूलो धार्मिक मेला लाग्ने गरेको छ।
दुप्चेश्वर गाउँपालिकाका भूपेन्द्र केसीले दुप्चेश्वर धाम नेपालकै प्रमुख धार्मिक तीर्थस्थलका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै धाम क्षेत्रमा विभिन्न धार्मिक संरचनाको निर्माण कार्यसमेत तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए।

