अस्ट्रेलियामा दुर्लभ घटना: एउटै गर्भबाट समान चार छोरी जन्मिए



काठमाडौं,साउन ७— अस्ट्रेलियामा एक महिलाले एउटै निषेचित अन्डाबाट विकसित भएका समान चार छोरीलाई जन्म दिएकी छन्।चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने भएकाले यसलाई विश्वकै दुर्लभ चिकित्सकीय घटनामध्ये एक मानिएको छ।

क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले शल्यक्रियामार्फत चार छोरीलाई जन्म दिएकी हुन्। यसअघि नै चार सन्तानकी आमा रहेकी नामोना र उनका पति जोर्थमले थप सन्तानको योजना नबनाएका बेला चौगुना गर्भ रहेको थाहा पाएपछि परिवार नै आश्चर्यचकित भएको अस्पतालले जनाएको छ।

मातृभ्रूण विशेषज्ञ डा. एलेक्सा बेन्डलका अनुसार चारै शिशु एउटै निषेचित अन्डा विभाजन भएर विकसित भएका हुन्। उनका अनुसार अस्ट्रेलियामा यस प्रकृतिको जन्म भएको यसअघि कुनै अभिलेख नभएको र यो घटना विश्वमै अत्यन्त दुर्लभ मानिन्छ। चारै भ्रूणले एउटै प्लेसेन्टा साझा गरेका कारण गर्भावस्था उच्च जोखिमयुक्त रहेको थियो। त्यसैले गर्भावस्थाको १० औँ सातादेखि विशेषज्ञ चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरेको थियो भने २५ औँ सातादेखि नामोनालाई अस्पतालमै भर्ना गरी उपचार गरिएको थियो।

डा. बेन्डलले २८ हप्ता चार दिनको गर्भावस्थामै चार स्वस्थ शिशुको सफल जन्म हुनु ठूलो उपलब्धि भएको बताइन्। शल्यक्रियाका क्रममा आमामा सामान्य रक्तस्राव भए पनि अवस्था नियन्त्रणमा रहेको र अहिले आमा तथा शिशुहरूको स्वास्थ्य सन्तोषजनक रहेको जनाइएको छ।

हाल चारै नवजात शिशु सघन उपचार कक्षमा उपचाररत छन्। उनीहरूको नाम एमिली, ह्यारिएट, क्याथरिन र एलेक्सा राखिएको छ। तीमध्ये एक शिशुको नाम आफ्नै सम्मानमा राखिएको भन्दै डा. बेन्डलले यसलाई विशेष सम्मानका रूपमा लिएको बताएकी छन् । अमेरिकी समाचार संस्था एपीका अनुसार दुर्लभ चिकित्सकीय उपलब्धिका रूपमा हेरिएको यस घटनापछि नवजात शिशुहरूको हेरचाहका लागि चन्दा सङ्कलनसमेत सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्