देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी



काठमाडौं, साउन ७ — देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार राति पनि देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको क्रम जारी रहने र बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षा हुने क्षेत्रका नदी–नाला र खोलामा आकस्मिक बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्