नुवाकोटको लिखु गाउँपालिकालाई आफ्नै प्रशासकीय भवन निर्माणको बाटो खुल्यो



नुवाकोट, साउन ७ — लामो समयदेखिको प्रयासपछि नुवाकोटको लिखु गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका लागि सरकारी जग्गा प्राप्त गरेको छ। यससँगै वर्षौंदेखि आफ्नै भवनको अभाव झेल्दै आएको गाउँपालिकाको स्थायी प्रशासकीय भवन निर्माण गर्ने बाटो खुलेको हो।

भूमि प्रशासन कार्यालय नुवाकोटले जिल्ला स्तरीय सिफारिस समितिको निर्णयअनुसार गाउँपालिकालाई ६ रोपनी ५ आना १ पैसा ३ दाम सरकारी जग्गा उपयोग गर्न प्रमाणपत्र प्रदान गरेको हो। उक्त जग्गा लिखु गाउँपालिका–४ (साविक चौघडा–८) मा रहेको छ।

गाउँपालिकाले अब सोही जग्गामा सुविधा सम्पन्न प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढाउने जनाएको छ। हाल वडा नम्बर–३ भलादमी डाँडाबाट सञ्चालन हुँदै आएका कार्यालय तथा सेवा आफ्नै भवनबाट सञ्चालन गर्न सकिने भएपछि सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास गरिएको छ।

वर्षौंदेखि आफ्नै प्रशासकीय भवन नहुँदा लिखु गाउँपालिकाले आलोचना समेत खेप्दै आएको थियो। जिल्लाका अधिकांश स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्दा लिखु गाउँपालिका भने भवनविहीन अवस्थामा रहेको थियो।

गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले सरकारी जग्गा प्राप्त भएसँगै अब सुविधा सम्पन्न प्रशासकीय भवन निर्माणको मार्ग प्रशस्त भएको बताउँदै निर्माण प्रक्रिया छिट्टै अगाडि बढाइने जानकारी दिए। उहाँले आफ्नै भवन बनेपछि सेवाग्राहीले सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने तथा गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्