१७ परिवारलाई लालपुर्जा, अर्जुनधारामा वर्षौंदेखिको बसोबासले पायो कानुनी मान्यता
झापा, साउन ७ — झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले आज आयोजित कार्यक्रममा उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।
झापा क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्दै वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा आफ्नै जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले लालपुर्जा वितरणले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक र सामाजिक सुरक्षामा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारको निर्देशिकाअनुसार लगत सङ्कलन, पहिचान, स्थलगत अध्ययन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेका वास्तविक लाभग्राहीलाई मात्र प्रमाण पुर्जा वितरण गरिएको जानकारी दिनुभयो।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरवासीलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी लागेको बताउँदै बाँकी योग्य लाभग्राहीलाई पनि क्रमशः जग्गाको स्वामित्व प्रदान गरिने विश्वास व्यक्त गर्नुभयो।
वडा नम्बर ११ मा यसअघि नै १४४ जना अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गरिसकेका छन्। नयाँ सूचीकरणअनुसार अर्जुनधारा नगरपालिकाका ११ वटै वडामा ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित र ६ हजार ३५९ अव्यवस्थित बसोबासी रहेका छन्।
कार्यक्रममा जनप्रतिनिधि, जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

