अर्ग्यानिक उत्पादनको प्रमाणीकरण स्वदेशमै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शाहको निर्देशन



काठमाडौं, साउन ७ — प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण स्वदेशमै गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीहरूको छाता संस्था ‘अर्ग्यानिक एसोसियसन नेपाल’का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालमै अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण प्रणाली विकास गर्न आवश्यक पहल गर्न निर्देशन दिनुभएको हो।

व्यवसायीहरूले अन्तरराष्ट्रिय प्रमाणीकरण प्रक्रिया अत्यन्त खर्चिलो भएकाले सरकारले नियन्त्रण गर्ने प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना गर्नुपर्ने, प्रमाणीकरणमा दिइँदै आएको ७५ प्रतिशतसम्मको अनुदान पुनःसञ्चालन गर्नुपर्ने तथा अर्ग्यानिक उत्पादन निर्यातमा रोकिएको अनुदान पुनः उपलब्ध गराउनुपर्ने माग राखेका थिए।प्रधानमन्त्री शाहले यी विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक खेतीको प्रवर्द्धनका लागि आवश्यक नीतिगत र व्यावहारिक कदम चालिने बताउनुभयो। प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई सहयोग अनुदान उपलब्ध गराउने व्यवस्था गर्न र अर्ग्यानिक मल उत्पादन वा खरिदमा रासायनिक मलसरह सुविधा उपलब्ध गराउने विषयमा पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

यस्तै, अर्ग्यानिक उत्पादन निर्यातमा दुई वर्षदेखि रोकिएको अनुदानलाई कानुनी रूपमा पुनः सञ्चालन गर्न आवश्यक कार्यविधि तयार भइरहेको जानकारी पनि प्रधानमन्त्री शाहले दिनुभएको छ।

छलफलमा अर्ग्यानिक एसोसियसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा विभिन्न अर्ग्यानिक कृषि र चिया उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्