बिपीको आदर्शलाई व्यवहारमा उतार्न कांग्रेसलाई गगन थापाको आग्रह
काठमाडौं, साउन ७ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका नेता–कार्यकर्ता सँगसँगै रहेकाले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ४४औँ बिपी स्मृति दिवसका अवसरमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँले बदलिँदो राष्ट्रिय परिस्थितिअनुसार नयाँ सोच र चिन्तनलाई आत्मसात् गर्दै बिपी कोइरालाको आदर्शलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो।
सभापति थापाले पार्टीभित्र र बाहिर निर्वाचन केन्द्रित राजनीति बढ्दै गएको उल्लेख गर्दै नेता–कार्यकर्तालाई सेवा, परोपकार र जनकल्याणका काममा सक्रिय हुन आग्रह गर्नुभयो। “रिलबाट निस्केर रियल जीवनमा हेर्नुस्, तब मात्र जनताको वास्तविक आवाज सुनिन्छ,” उहाँले भन्नुभयो।
उहाँले कांग्रेस अहिले प्रदेश र स्थानीय तहमा सरकारमा तथा सङ्घीय तहमा प्रतिपक्षमा रहेकाले जनजीविकाका मुद्दामा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। आगामी भदौ २४ गते बिपी जन्मजयन्तीका अवसरमा प्रत्येक सदस्य र पार्टी समितिले देश र जनताप्रति कुनै न कुनै प्रतिज्ञा गर्नुपर्ने प्रस्ताव पनि उहाँले राख्नुभयो।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बिपीका विचार र संस्कारलाई जीवनमा उतार्न आग्रह गर्दै जलवायु परिवर्तनबाट बढ्दो विपद् न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो।
उपसभापति पुष्पा भुसालले विशेष महाधिवेशनपछि पार्टी विधानलाई समयानुकूल परिमार्जन गरिएको उल्लेख गर्दै आगामी स्थानीय तह निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन प्रशिक्षण र तयारी गरिने जानकारी दिनुभयो।
महामन्त्री प्रदीप पौडेलले जनताका समस्यालाई कांग्रेसको मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गर्दै नयाँ विधानले ३५ वर्षमुनिका २१ जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरेको र क्रियाशील सदस्यता अद्यावधिकको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताउनुभयो।
अर्का महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनपछि पार्टीमा पुस्तान्तरण भएको, टिकट वितरण निष्पक्ष रूपमा गरिएको तथा संगठन सुदृढीकरण, प्रशिक्षण र सदस्यता व्यवस्थापनका कामलाई तीव्रता दिइएको बताउनुभयो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिपीका विचारलाई अभियानकै रूपमा देशभर फैलाउनुपर्ने धारणा राख्नुभयो भने प्रमुख वक्ता प्राध्यापक कृष्ण खनालले बिपी कोइराला कांग्रेसका मात्र नभई सम्पूर्ण राष्ट्रका साझा प्रेरणाका स्रोत रहेको बताउनुभयो।
नीति प्रतिष्ठानकी सदस्य मोहना अन्सारीले बिपीको विचार, दर्शन र राजनीतिक योगदान आज पनि सबैका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो।

