सप्तरीमा ३३ क्विन्टलभन्दा बढी गाँजा बरामद, तीन सवारीसाधन नियन्त्रणमा
सप्तरी, साउन ७ — सप्तरी प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ बाट ओसारपसार भइरहेको ३३ क्विन्टल ३२ किलो ४६० ग्राम गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा फेला परेको हो। घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने चालकहरू फरार रहेका छन्।
प्रहरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा रहेको ५ क्विन्टल २३ किलो ६४० ग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १६ क्विन्टल ६८ किलो ११० ग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको ११ क्विन्टल ७० किलो ७१० ग्राम गाँजा बरामद गरिएको हो।
प्रहरीले फरार चालकहरूको खोजी तीव्र पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

