बागमतीमा ‘हेल्लो सीएम’ सेवा सुरु, नागरिकका गुनासोको प्रत्यक्ष सुनुवाइ हुने



हेटौँडा, साउन ७ — बागमती प्रदेश सरकारले नागरिकका गुनासा प्रत्यक्ष रूपमा सुन्न, सुनुवाइ गर्न र समाधान प्रक्रियालाई प्रभावकारी बनाउन ‘हेल्लो सीएम’ गुनासो व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गर्नुभएको हो। सेवाका लागि मुख्यमन्त्री कार्यालयमै छुट्टै फाँट स्थापना गरिएको छ।

अब नागरिकले टोल–फ्री नम्बर १६६०५७५२८९८, ह्वाट्सएप नम्बर ९८५५०८९४५६ तथा [email protected] इमेलमार्फत आफ्ना गुनासा दर्ता गर्न सक्नेछन्। दर्ता भएका गुनासा सम्बन्धित मन्त्रालय वा निकायमा तत्काल पठाइने र समाधान प्रक्रियाको निरन्तर अनुगमन गरिने व्यवस्था गरिएको छ।

प्रत्येक गुनासालाई छुट्टै परिचय नम्बर प्रदान गरिनेछ। सोही नम्बरमार्फत गुनासोकर्ताले आफ्नो गुनासाको अवस्था, सुनुवाइ र समाधानको प्रगति अनलाइनबाटै हेर्न सक्नेछन्।

सेवा सञ्चालनको पहिलो दिनमै हेटौँडा उपमहानगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, नापी कार्यालय र मुख्यमन्त्री कार्यालय जाने सडक लामो समयदेखि अलपत्र रहेको विषयमा गुनासो दर्ता भएको थियो। गुनासो प्राप्त भएपछि मुख्यमन्त्री बानियाँले सम्बन्धित निकायलाई सडक निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार नागरिकका गुनासा सुन्न मात्र नभई तिनको समाधान गर्न पनि प्रतिबद्ध रहेको बताउँदै जनताको विकास, समृद्धि र दैनिक समस्याप्रति सरकारलाई थप उत्तरदायी बनाउन ‘हेल्लो सीएम’ सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्