विश्वविद्यालयमा दलीय भागबण्डा अन्त्य गर्न शिक्षामन्त्री पोखरेलको आग्रह



काठमाडौं, साउन ७ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता सुदृढ गर्दै दलीय भागबण्डाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपतिसमेत रहनुभएका मन्त्री पोखरेलले सुधार र रूपान्तरणको दृष्टिकोणसहित विश्वविद्यालयहरू अघि बढिरहेको बताउँदै पुरानो पहिचानलाई कायम राख्दै नयाँ अध्यायको सुरुआत गर्नुपर्ने बताउनुभयो।

उहाँले प्राज्ञिक स्वायत्ततालाई थप सुदृढ बनाउँदै योग्यता प्रणाली कार्यान्वयन गर्न र विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त बनाउन आग्रह गर्नुभयो। सरकारबाट विश्वविद्यालयमा कुनै प्रकारको हस्तक्षेप वा दबाब नहुने स्पष्ट पार्दै नवनियुक्त उपकुलपतिलगायत सम्पूर्ण संयन्त्रलाई सुशासन कायम हुने गरी काम गर्न अनुरोध गर्नुभयो।

मन्त्री पोखरेलले नेपाली विश्वविद्यालयलाई अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन तथा प्राध्यापकहरूलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयसँग ज्ञान आदानप्रदान गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले बदलिँदो समयअनुसार विश्वविद्यालयलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सुशासनका लागि प्रभावकारी प्रणाली स्थापना गर्ने, अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्दै ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित भएर विश्वविद्यालयलाई नैतिक र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने बताउनुभयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको वार्षिक प्रकाशनसमेत विमोचन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्