होटललाई स्क्यामरको अड्डा बनाउन नदिन प्रशासनको चेतावनी
मकवानपुर, साउन ८ — जिल्ला प्रशासन कार्यालय मकवानपुरले होटल तथा गेष्ट हाउसलाई आधार बनाएर हुने अनलाइन ठगी (स्क्यामिङ) का घटना बढ्दै गएको भन्दै सबै सरोकारवाला पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा बिहीबार जारी सूचनामा पछिल्लो समय जालसाजहरूले अनलाइन किनमेल, जागिर, चिठ्ठा, व्यवसाय, बजार अनुसन्धान, उद्योगमा लगानी तथा होलसेल कारोबारजस्ता विभिन्न प्रलोभन देखाएर सर्वसाधारणबाट आफ्नो क्युआर कोड वा नेपाल तथा भारतस्थित बैंक खातामा रकम जम्मा गराउने प्रवृत्ति बढेको उल्लेख गरिएको छ।
प्रशासनका अनुसार यस्ता ठगहरू हेटौँडाका होटल तथा गेष्ट हाउसमा ग्राहकका रूपमा लामो समय बस्ने, होटल सञ्चालकको फोन तथा सवारीसाधन प्रयोग गर्ने र त्यसकै आडमा विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेको गुनासो बढ्दै गएको छ।
यसैलाई ध्यानमा राख्दै प्रशासनले होटल तथा गेष्ट हाउस सञ्चालकलाई पाहुनाको गतिविधिप्रति जिम्मेवार र सचेत रहन, शङ्कास्पद गतिविधि देखिए तत्काल नेपाल प्रहरीलाई जानकारी गराउन तथा स्क्यामिङमा संलग्न हुन सक्ने व्यक्तिमाथि निगरानी बढाउन आग्रह गरेको छ।
प्रशासनले कुनै पनि नागरिकलाई ठगी गर्ने उद्देश्यले गतिविधि भइरहेको देखिए वा शङ्कास्पद व्यक्ति फेला परे तत्काल प्रहरीलाई खबर गरी अपराध नियन्त्रणमा सहयोग गर्न सबैसँग अनुरोध गरेको छ।

