चार सय ग्राम ब्राउनसुगरसहित दुई महिला पक्राउ



बाँके, साउन ८ — बाँके प्रहरीले चार सय ग्राम ब्राउनसुगरसहित रुकुम पश्चिमका दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाको संयुक्त टोलीले नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित ‘द नेक्स्ट बाइट रेस्ट्रो कफी सप’ अगाडि लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्दा दुई महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ की निशा पुनमगर र त्रिवेणी गाउँपालिका–२ की ललिता बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार निशा पुनमगरको शरीर खानतलासी गर्दा चार सय ग्राम ब्राउनसुगर बरामद भएको थियो। उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत बाँकेबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

बरामद भएको लागुऔषध कहाँबाट ल्याइएको, कसलाई पुर्‍याउन लागिएको र यसमा संलग्न अन्य व्यक्तिको पहिचानबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय नेपाल–भारत सीमावर्ती नेपालगन्ज, कोहलपुर र भारतको रुपैडिहा क्षेत्रमा लागुऔषध नियन्त्रण अभियान कडा बनाइएकाले ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति दैनिकजसो पक्राउ पर्ने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्