खराब ब्याटिङले फेरि डुबायो नेपाल, नेदरल्यान्ड्ससँग ६ विकेटको हार



काठमाडौं, साउन ८ — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गर्दै सहज जित दर्ता गरेको हो।

नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। एक समय ७३ रनमै ४ विकेट गुमाएर दबाबमा परेको नेदरल्यान्ड्सलाई कप्तान स्कट एडवार्ड्स र नोआ क्रोसले पाँचौं विकेटका लागि अविजित ९५ रनको साझेदारी गर्दै जित दिलाए। एडवार्ड्स ६१ र क्रोस ३३ रनमा अविजित रहे।नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान एक–एक विकेट लिए। प्रमुख स्पिनर सन्दीप लामिछाने भने लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहे।

यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमै समेटिएको थियो। नेपालले सुरुदेखि नै कमजोर प्रदर्शन गर्दै पहिलो पावरप्लेमा ३३ रन जोड्दा ३ विकेट गुमाएको थियो। ओपनर आशिफ शेख १४, कुशल भुर्तेल ९, कप्तान रोहित पौडेल ३ र इशान पाण्डे ४ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।

त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले केही समय इनिङ सम्हाले पनि ठूलो साझेदारी बनाउन सकेनन्। दीपेन्द्रले २१, गुल्शन झाले २९, सोमपाल कामीले १० र आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। करण केसी १३ रनमा अविजित रहे।

नेदरल्यान्ड्सका लागि एलेक्स रोए र रुलोफ भान डेर मर्वेले समान तीन तथा लोगान भान बिकले दुई विकेट लिए। लगातार दोस्रो जितसँगै नेदरल्यान्ड्स ३४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। नेपाल भने २४ अंकसहित पाँचौं स्थानमै रहेको छ। यसअघि नेपाल प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग पनि पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्