भीमसेन थापाको देशभक्तिबाट प्रेरणा लिन राष्ट्रपतिको आह्वान
काठमाडौँ,साउन ८ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पुर्खाको त्याग, बलिदान, साहस र वीरताकै कारण आज नेपालीले विश्वसामु गर्वका साथ शिर उँचो बनाएर उभिन सकेको बताउनुभएको छ।
राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक पक्षबाट प्रेरणा लिएर वर्तमानलाई न्याय गर्न सके मात्र उज्ज्वल भविष्य निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
उहाँले वीर पुर्खाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि पुर्याएको योगदान अनुकरणीय रहेको उल्लेख गर्दै आपसी भाइचारा, सहिष्णुता, मित्रता र एकताको आधारमा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलले एकताको बलमा समृद्ध नेपाल निर्माण गर्न सकिने बताउँदै भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनमार्फत विकासलाई तीव्रता दिन सबै एकजुट हुन आग्रह गर्नुभयो। उहाँका अनुसार यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित सम्पूर्ण वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ।
उहाँले भीमसेन थापालाई राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताका पक्षमा अडिग रहने देशभक्त नेताका रूपमा स्मरण गर्दै अङ्ग्रेजसँगको युद्धमा ठूलो क्षति व्यहोरे पनि उहाँको राष्ट्रभक्तिपूर्ण अडानका कारण नेपाल स्वतन्त्र रहन सफल भएको उल्लेख गर्नुभयो।
राष्ट्रपति पौडेलले भीमसेन थापालाई इमानदार र कुशल प्रशासकको रूपमा चित्रण गर्दै उहाँको शासनकालमा सामाजिक, आर्थिक, कानुनी तथा सेनाको आधुनिकीकरणका क्षेत्रमा भएका सुधारहरू प्रशंसनीय रहेको बताउनुभयो।
कार्यक्रममा सीमाविद् बुद्धि नारायण श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो।

