भीमसेन थापाको राष्ट्रभक्तिबाट प्रेरणा लिन राष्ट्रपतिको आह्वान



काठमाडौं,साउन ८ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताकै कारण आज नेपालीले शिर उँचो बनाएर गौरवका साथ बाँच्न पाएको बताउनुभएको छ।

राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक पक्षबाट प्रेरणा लिएर अघि बढे मात्र वर्तमान र भविष्यप्रति न्याय गर्न सकिने धारणा राख्नुभयो।

उहाँले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न वीर पुर्खाले दिएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै आपसी भाइचारा, सहिष्णुता, मित्रता र एकताको आधारमा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रप्रेमप्रतिको आस्था र प्रतिबद्धतामा कुनै विचलन आउन नदिन पनि उहाँले आग्रह गर्नुभयो।

राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वका धनी भीमसेन थापा राष्ट्रहितका विषयमा कहिल्यै नझुकेको उल्लेख गर्दै उहाँको मूलमन्त्र नै देशभक्ति रहेको बताउनुभयो। अङ्ग्रेजसँगको युद्धमा ठूलो मूल्य चुकाउनुपरे पनि उहाँको राष्ट्रभक्तिपूर्ण अडानका कारण नेपाल स्वतन्त्र रहन सफल भएको उहाँको भनाइ थियो।

उहाँले भीमसेन थापालाई इमानदार र कुशल प्रशासकको रूपमा स्मरण गर्दै उहाँको शासनकालमा सामाजिक, आर्थिक, कानुनी तथा सेनाको आधुनिकीकरणलगायत क्षेत्रमा भएका सुधारका कार्य आज पनि अनुकरणीय रहेको बताउनुभयो।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्