मन्दिरमा चोरी गर्ने दुई युवक पक्राउ, नगदसहित गाँजा बरामद



स्याङ्जा, साउन ९ — स्याङ्जाको वालिङ नगरपालिका–१२ गुरुङ्खास्थित प्रसिद्ध अकलादेवी मन्दिरमा चोरी गर्ने दुई युवक पक्राउ परेका छन्।

शुक्रबार दिउँसो मन्दिरको दानपेटिका फुटाएर नगद चोरी गरी भाग्न लागेका उनीहरूलाई स्थानीयले शंकास्पद गतिविधि देखेपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। वडा सदस्य धर्मागत पराजुलीका अनुसार स्थानीयको सक्रियतामा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुवै जना गल्याङ नगरपालिका–६ पिँडीखोला, रामिडाँडा स्थायी घर भई हाल नवलपरासीको भुताहामा बस्दै आएका छन्। उनीहरूको साथबाट चोरी गरिएको २१ हजार ९७० रुपैयाँ नगद तथा हरियो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्