आज हरिशयनी एकादशी, चार महिनाको चतुर्मासा व्रत तथा तुलसी पूजा सुरु
काठमाडौं, साउन ९ — सनातन वैदिक परम्पराअनुसार हरिशयनी एकादशी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यसै दिनदेखि घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु भएको छ।
आषाढ शुक्ल एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्मको अवधि ‘चतुर्मासा’का रूपमा मनाइन्छ।
आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई फलाहार गर्ने धार्मिक परम्परा रहेको छ।
वैदिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। धार्मिक महत्वसँगै तुलसी औषधीय गुणले भरिपूर्ण वनस्पति पनि हो। वैज्ञानिक रूपमा पनि तुलसीले वातावरण शुद्ध बनाउन र स्वास्थ्यका लागि लाभदायी भूमिका खेल्ने तथ्य पुष्टि भएको छ।
चार महिनासम्म विशेष पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशीका दिन दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइने परम्परा रहेको छ। त्यससँगै हवन गरी चतुर्मासा व्रतको समापन गरिने धार्मिक विधि छ।

