उपत्यकामा हरियो तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगिए
काठमाडौँ,साउन ९ । उपत्यकामा हरियो तरकारीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो सातामा केही तरकारीको मूल्य पाँच गुणासम्म बढेको छ।
समितिका अनुसार सबैभन्दा धेरै तनेबोडीको मूल्य बढेको छ।त्यसपछि तितेकरेला, भन्टा, घिउ सिमी, सागलगायतका तरकारीको मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ।
समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार तरकारीको माग उच्च भएका बेला उत्पादन तथा आयात घटेकाले मूल्य बढेको हो।नियमित रूपमा बजारमा आइपुग्नुपर्ने तरकारी समयमै नआउँदा केही तरकारी बिग्रिने र फाल्नुपर्ने अवस्था सिर्जना भएकाले पनि भाउ महँगिएको उहाँले बताउनुभयो।
कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले चितवन, मकवानपुरलगायत तराईका जिल्लामा धान रोपाइँ सकिएसँगै त्यहाँबाट आउने तरकारी घटेकाले उपत्यकामा मूल्य बढ्न थालेको जानकारी दिनुभयो। ती क्षेत्रबाट तत्काल पर्याप्त उत्पादन नआउने भएकाले असोज–कात्तिकसम्म तरकारीको मूल्य उच्च रहने सम्भावना रहेको उहाँको भनाइ छ।
हाल कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट तरकारी आपूर्ति हुँदै आएको समितिले जनाएको छ।

