पहिरोको कहर : तीन वर्षीय बालकको मृत्यु, चार घर पूर्ण रूपमा ध्वस्त
मुगु,साउन ९ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शनिबार बिहान खसेको ढुङ्गासहितको पहिरोमा परी तीन वर्षीय बालकको मृत्यु भएको छ।
शनिबार बिहान करिब ४ बजे माथिबाट आएको पहिरो पेमा लामाको घरमा खस्दा त्यहाँ भाडामा होटल सञ्चालन गर्दै बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्प गाउँका जगनाथ बडुवालको परिवार पहिरोमा परेको हो।
पहिरोमा च्यापिएका तीन वर्षीय रमेश बडुवाललाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी पुलु स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। घटनामा उनका बुवा जगनाथ बडुवाल र आमा सृजना बडुवाल सामान्य घाइते भएका छन्।
प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोली तथा स्थानीयवासीले उद्धार कार्य गरेका थिए।
पहिरोका कारण चार वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने थप आठ वटा घर उच्च जोखिममा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
विस्थापितमध्ये केहीलाई आफन्तको घरमा र केहीलाई पुलु स्वास्थ्य चौकीमा अस्थायी रूपमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ।

