देवीघाटको जेष्ठ नागरिकको सेवामा नविन कोइरालाको १५ लाख सहयोग, हाई केयर युनिट निर्माणलाई टेवा



नुवाकोट, साउन ९ — नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुर निवासी समाजसेवी नारायणप्रसाद कोइराला र लक्ष्मी कोइरालाका सुपुत्र नविन कोइरालाले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई १५ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।

विदुर नगरपालिका–५ मा सञ्चालित प्रतिष्ठानमा आश्रित ज्येष्ठ नागरिकहरूको सेवा–सुविधा विस्तारका लागि निर्माण हुन लागेको हाई केयर युनिटका लागि उक्त रकम सहयोग गरिएको हो। सहयोग हस्तान्तरणपछि प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले नविन कोइरालालाई सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो।

प्रतिष्ठानका सचिव रामशरण थापाका अनुसार हाल जिल्लाकै एकमात्र ज्येष्ठ नागरिक प्रतिष्ठानमा ३६ जना ज्येष्ठ नागरिक आश्रित छन्। उनीहरूको स्वास्थ्य सेवा र हेरचाहलाई अझ प्रभावकारी बनाउन हाई केयर युनिट निर्माणको काम अघि बढाइएको छ।

यसैबीच, प्रतिष्ठानमार्फत सञ्चालन हुने अस्पताल निर्माणका लागि सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको सिफारिसमा उक्त आयोजनालाई बहुवर्षीय योजनामा समेत समावेश गर्ने प्रतिबद्धता अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिष्ठानले प्राप्त सहयोग र सरकारी बजेटले ज्येष्ठ नागरिकको सेवा, उपचार तथा स्वास्थ्य पूर्वाधार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्