सातै प्रदेशमा सत्ता सहकार्य : एमाले–माओवादीबीच सरकार गठनमा सहमति



काठमाडौं,साउन ९। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। प्रदेशसभामा देखिएको राजनीतिक अन्योल, बजेट निर्माणमा उत्पन्न असमझदारी तथा बजेटविहीनताको अवस्था अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यसहित दुई दल सहकार्यमा सहमत भएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको सहमति पत्रमा प्रदेशसभामा संयुक्त रूपमा सहकार्य गर्दै सरकार गठन गर्ने उल्लेख गरिएको छ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले नेतृत्व गर्नेछ।

यस्तै, मधेस र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ।

दुई दलबीच भएको यस सहमतिले प्रदेश सरकार गठन र सञ्चालनमा देखिएको अन्योल अन्त्य गर्दै राजनीतिक स्थिरता कायम गर्न तथा विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सहमति पत्रमा २०८३ साल साउन ९ गते हस्ताक्षर गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्