कारभित्र जलेको अवस्थामा महिलाको शव फेला, प्रहरीले अनुसन्धान अघि बढायो



काठमाडौं,साउन ९। तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार तारकेश्वर नगरपालिका–९ निवासी ४५ वर्षीया रश्मि रिजालको शव कारको पछाडिको सिटमा जलेको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार रिजाल शुक्रबार कार्यालय जान्छु भन्दै घरबाट निस्किनुभएको थियो। तर कार्यालय नपुगेपछि परिवारका सदस्यले उहाँ बेपत्ता भएको भन्दै सोही दिन खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।

खोजीका क्रममा शनिबार चुनदेवी क्षेत्रमा पार्किङ गरिएको कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ। कारको भित्री भाग अधिकांश जलेको रहेको र निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्