डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, समाधान खोज्ने प्रयास तीव्र



काठमाडौं,साउन १० । अनसनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारले पहललाई तीव्र बनाएको छ। सोही क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार धनगढी पुग्नुभएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग प्रत्यक्ष वार्ता गर्न सचिव पौडेललाई धनगढी पठाइएको जानकारी दिनुभएको छ। सचिव पौडेलले डा. केसीसँग भेट गरी उहाँले उठाएका मागका विषयमा विस्तृत छलफल गर्नुहुनेछ।

यसअघि शुक्रबार साँझ शिक्षामन्त्री पोखरेलले डा. केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गर्नुभएको थियो। त्यसको निरन्तरतास्वरूप सचिवलाई धनगढी पठाइएको जनाइएको छ।

सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका मागको सम्मानजनक तथा सहमतिपूर्ण समाधान यथाशीघ्र खोज्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्