अविश्वास प्रस्तावअघि नै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा
सुर्खेत,साउन १० । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनुभएको छ। शनिबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बैठकलाई सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभएको हो।
मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल र मतदानका लागि शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो। तर, मतदान प्रक्रिया अघि बढ्नुअघि नै उहाँले पदबाट राजीनामा दिएपछि अविश्वास प्रस्तावको प्रक्रिया अघि बढ्न पाएन।
यससँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री कँडेलविरुद्ध गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसैको टुंगो लगाउन बोलाइएको बैठकअघि नै उहाँले पद त्याग गरेपछि प्रदेशको राजनीतिक समीकरण नयाँ चरणमा प्रवेश गरेको छ।

