वीरगञ्ज नाकाबाट एक वर्षमा साढे दुई खर्ब नजिकको इन्धन आयात, राजस्व ८० अर्बभन्दा बढी



वीरगञ्ज,साउन १०। देशकै प्रमुख भन्सार नाका वीरगञ्जबाट आर्थिक वर्ष ०८२/०८३ मा २ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ अर्ब ६३ करोड रुपैयाँले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार आर्थिक वर्ष ०८२/०८३ मा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल, ४७ अर्ब ३५ करोड रुपैयाँ बराबरको पेट्रोल, ३३ अर्ब ४२ करोड रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास, २३ अर्ब ६२ करोड रुपैयाँ बराबरको हवाई इन्धन तथा ३७ करोड रुपैयाँ बराबरको मट्टितेल आयात भएको छ।

भन्सार तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा वीरगञ्ज नाकाबाट १ खर्ब ९१ अर्ब ९३ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको थियो। यद्यपि, यस अवधिमा एलपी ग्यासको आयात भने घटेको छ। गत वर्षको तुलनामा २ अर्ब ८५ करोड रुपैयाँले कम एलपी ग्यास आयात भएको हो। आर्थिक वर्ष ०८१/०८२ मा ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको थियो।

इन्धन आयातबाट मात्रै आर्थिक वर्ष ०८२/०८३ मा वीरगञ्ज भन्सार कार्यालयले ८० अर्ब ६८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्