रसुवामा नयाँ विद्युतीय गाडी भोटेकोसीमा खस्यो, चालक बेपत्ता



रसुवा,साउन १० । चीनबाट आयात गरिएको एसआरएम कम्पनीको विद्युतीय गाडी शनिबार साँझ रसुवामा भोटेकोसी नदीमा खस्दा चालक बेपत्ता भएका छन्।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार गाडीसँगै बेपत्ता हुनेमा कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन्।

भन्सार जाँचपास सम्पन्न गरी गाडी काठमाडौं ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत् केन्द्र नजिकै गाडी अनियन्त्रित भई भोटेकोसी नदीमा खसेको उहाँले जानकारी दिनुभयो।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ। कठिन भौगोलिक अवस्थाका बीच पनि बेपत्ता चालक र गाडीको खोजी कार्य तीव्र रूपमा जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्