चार महिनापछि बर्डफ्लु नियन्त्रणउन्मुख, नयाँ सङ्क्रमण शून्य
काठमाडौँ, साउन ९ — पछिल्लो चार महिनादेखि पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण अहिले नियन्त्रणउन्मुख बनेको छ। चालु आर्थिक वर्षको साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ सङ्क्रमण पुष्टि नभएको भन्दै पशुसेवा विभागले रोग नियन्त्रणको चरणमा पुगेको जनाएको छ।
पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार विभिन्न जिल्लाबाट शङ्कास्पद नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आइरहेका छन्। हालसम्म परीक्षण गरिएका सबै नमुनाको नतिजा नकारात्मक आएकोले सङ्क्रमण नियन्त्रणमा आएको स्पष्ट सङ्केत देखिएको उहाँले बताउनुभयो।
विभागले रोग पुनः फैलिन नदिन देशभर निगरानी, प्रयोगशाला परीक्षण तथा पोल्ट्री फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिएको जनाएको छ। यद्यपि जोखिम पूर्ण रूपमा हटिनसकेकाले किसानलाई जैविक सुरक्षा अपनाउन, शङ्कास्पद लक्षण देखिए तत्काल पशुसेवा कार्यालयमा जानकारी गराउन र नियमित निगरानीमा सहयोग गर्न आग्रह गरिएको छ।
यस वर्ष बर्डफ्लु पहिलो पटक २०८२ चैत ४ गते मोरङमा पुष्टि भएको थियो। त्यसपछि मोरङबाट सुरु भएको सङ्क्रमण सुनसरी, झापा, चितवन, नवलपरासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसहित ११ जिल्लामा फैलिएको थियो। महामारीका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की तथा कालिज प्रभावित भएका थिए।
काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकका ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये भक्तपुर सबैभन्दा बढी प्रभावित बनेको थियो। विभागका अनुसार ललितपुरमा असार २५ गतेपछि तथा काठमाडौँ र भक्तपुरमा साउन १ गतेयता नयाँ सङ्क्रमण देखिएको छैन।
महामारी नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ पन्छी, ११ लाख ६५ हजार ६६३ अन्डा र दुई लाख ४५ हजार ३५ किलोग्राम दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा मात्रै तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको विभागले जनाएको छ।
प्रभावित किसानलाई राहतस्वरूप ५२ करोड रुपैयाँ बजेट व्यवस्था गरिएकोमा हालसम्म १०४ जना कृषक तथा पोल्ट्री फार्मलाई ५० करोड ७१ लाख १५ हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकिएको विभागले जनाएको छ।

