नयाँ राहदानी प्रणाली सुधारोन्मुख, दैनिक छपाइ क्षमता १३ सय पुग्यो



काठमाडौँ, साउन १० — विद्युतीय राहदानी व्यवस्थापन तथा छपाइका लागि लागू गरिएको नयाँ जर्मन प्रणाली क्रमशः सुधार हुँदै गएको राहदानी विभागले जनाएको छ। गत असार २९ गते फ्रान्सेली प्रणालीबाट जर्मनीको नयाँ प्रविधिमा स्थानान्तरण गरिएपछि प्रारम्भिक प्राविधिक समस्याका कारण सेवाग्राहीले केही असहजता भोगे पनि सेवा प्रवाहलाई सहज बनाउन तीव्र रूपमा काम भइरहेको विभागले जनाएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले राहदानी सेवा जनमुखी, सरल र छिटो बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै ७७ जिल्ला, छ इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट नियमित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो।

नयाँ प्रणालीमार्फत हालसम्म आठ हजार २६० राहदानी छपाइ गरी वितरण गरिएको छ। प्रारम्भमा दैनिक करिब १०० थान मात्रै छाप्न सकिने अवस्था रहेकामा अहिले दैनिक एक हजार ३०० थानसम्म छपाइ गर्ने क्षमता विकास भएको मन्त्रालयले जनाएको छ।

राहदानी विभागका प्रवक्ता दीपक बन्जाडेका अनुसार नयाँ प्रणालीमा ठूलो परिमाणको तथ्याङ्क सफलतापूर्वक स्थानान्तरण भए पनि नियमित आवेदन र छपाइ प्रक्रियामा देखिएका सफ्टवेयरसम्बन्धी समस्या समाधान गर्न जर्मनीबाट आएको प्राविधिक टोली नेपालमै रहेर काम गरिरहेको छ। थप प्राविधिक जनशक्ति आएपछि समस्या समाधानको गति बढेको उहाँले बताउनुभयो।

विदेश अध्ययनका लागि आवेदन दिने मौसम सुरु भएसँगै राहदानी बनाउने सेवाग्राहीको चाप बढिरहेको छ। यही कारण विभागले आवेदन व्यवस्थापनमा केही कडाइ गरेको जनाएको छ। अनलाइन आवेदन र अन्य प्रक्रियामा देखिएका समस्या क्रमशः समाधान गर्दै सेवा थप सहज बनाइँदै गएको विभागको भनाइ छ।

विभागका अनुसार हालसम्म छापिएका राहदानीमा कागज वा गुणस्तरसँग सम्बन्धित कुनै समस्या देखिएको छैन। स्थानान्तरणको पहिलो दिन १६९ राहदानी छापिएकोमा त्यसयता अधिकांश दिन एक हजारभन्दा बढी राहदानी छपाइ हुँदै आएको छ। केही जिल्ला प्रशासन कार्यालय र नेपाली नियोगमा सफ्टवेयर अद्यावधिक भइरहेकाले आवेदन रुजु प्रणाली सञ्चालनमा भने केही ढिलाइ भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्