एमबिएस प्रश्नपत्र सार्वजनिक प्रकरणमा पक्राउ, सात दिनभित्र छानबिन प्रतिवेदन आउने



काठमाडौं,साउन १० । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई आइतबार बिहान नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको हो।

यही साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनापछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डिनको कार्यालयले साइबर ब्यूरोलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो।

यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न प्राध्यापक डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन्।

समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। विश्वविद्यालयले घटनामा संलग्नमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्